हाम्रा ऑस्टिन निवाशी श्री सुरेश पोखरेल बाट रचिएको यो यथार्थपरक बस्तुस्थिति लाई भावनात्मक शब्द हरु ले समेटिएको को कविता जसमा नेपाली गाऊघरमा दशैं मा के कस्ता क्रियाकलाप हरु हुने गर्छन भन्ने भाव ले तपाई लाई कुनै बेला को येस्तै घटना को याद गराउन । दशैं को बारेमा मलाई अत्ति मन परेको कविता।
मा सिमित मेरा दशैंहरु
नौरथा देखि नै
रौनक बटुल्दो मेरो दशैं
अझै
मेरा घर, मझेरी र वस्तीहरुमा
अनि
पधेरो, मेला र वनपाखाहरुमा
साइलीहरुको माइत जान पाउने कौतुहलता
समेट्दै होला ।
विर्खेहरुका मावल जाने उत्साहहरु
व्यग्रताका साथ
जगाउदै होला घटस्थापना
माँ खुट्टाले तातो वालुवा कुल्चदै
भारी खेपेर दाउराको
ती पाका माल्दाइहरुले
जीर्ण शरीर भित्रको कमलो अन्तस्करणमा
थोरै फिर्काहरुसँगै
चोखो तीनपानेको सर्को लगाउने योजनाका साथ
विर्सेर दुःखका सागरहरु
पलाउदै होलान खुशीहरु ।
तर आफ्नो भने
कोलाहल शहरमा
काम, दामको अनवरत चपेटो भित्र
सम्झनामै सिमित भए दशैहरु ।
घटस्थापना मा जमरा राखने
मेरी आमाका उमंगहरु
त्यसलाई पवित्र पार्ने
मेरा वा का मन्त्रोच्चारणहरु
मानौ
मिर्मिरेको उज्ज्यालो झै
वढ्दो हो अनवरत ।
दशैं आयोको सन्देश दिन
सिधाको अधिकारमा
घन्कदो हो
वस्ति थर्काउदै
चमार दाइका ढोलहरु ।
लठारो बाटेर सावेको
धनेदाइहरुले
राख्दै फूर्का बाँसहरुमा
गर्दै होलान तैयारी
लिंगे पिङ गाड्न ढिम्किमा ।
हाते कलको खिटिटि खिटिटिसँगै
व्यस्त भएर दर्जिदाइ
सुकुलमाथी पल्याटी कसी
मेरो आगनमा
पार्दै होलान तयार वस्त्रहरु ।
तर आफ्नो भने
उकुसमुकुस स्टोर भित्र
कोमो एस्ताद
र
ह्याव अ गुड डे भन्दै
सम्झनामा सिमित भए दशैंहरु ।
सप्तमीमा गाउलेकहाँ आएको खुशीलाई
मात गर्दै
खशी काटी अष्टमीमा
मेरी आमाको सपि सहितको
घाडेजालो, वोसे आन्द्रो र रक्तिको भुटनमा
ढिकीले कुटेका
एक पसर खरा चिउरासँग
रमाउदै होलान भाइहरु
भरेर पेट मासुभातले
टन्न अघाइ
डकार्दै
जम्मा भए हुन् सगीहरु लिंगे पिङमा
खाइ पचाउन ।
सररर सरररको मातले
छर्लंगै पार्दा हो रातहरु ।
तर आफ्नो भने
थाकेको शरिर
अनि
पाकेको मनलाइ
सम्हाल्दै र सुम्सुम्याउदै
घुइचो भएर पनि
निर्जन जस्तै लाग्ने शहरको गर्भभित्रै
हराउदै आफैलाई नै
सम्झनामै सिमित भए दशैंहरु ।
नवमीको मेला भर्दै
ग्रहण गर्न प्रसाद कंकालनीमाताको
मेरा श्रेष्ठजनहरु
होलान अस्तव्यस्त
सप्तकोसी किनारमा ।
दशमी हो आज
वडा दशैं
सुगन्धित सावुनको फ्रिज मिच्दै
स्नान गरी सकि
ठाटिए होलान भाइहरु
नयाँ पोशाकमा ।
रंगिचंगी होलिन मेरी बहिनी पनि
रेशमी फ्रकमा ।
पूजा गरेर नवदूर्गाको
फूके होलान वा ले शंख घुडु घुडु पार्दै
शुभ साइत टीकाको
संकेत गर्दै ।
लागे होलान् लाम टीका थाप्न
मेरा भाइ वहिनीहरु
उत्कण्ठाका साथ ।
टीका, जमरा र आशिक दिदैजादा
सम्झेर मलाई
मेरी आमा
गहभरी आसु पारी
रोइनहोली तरक्क
गलेहोलान केही क्षण
स्तव्ध भयो होला गला
मेरा वा को पनि
मलाइ सम्झि ।
तर आफ्नो भनें
खाली निधार
रसिला आखा
वेचैनी मन
अनि
भेट हुने आशासँगै
सम्झनामै सिमित भए दशैंहरु ।
ओहो आज एकादशी
सजिएर मेरी दिदी रातो साडीमा
सौभाग्यको सिंदूर सहित
निधार भरी राता अक्षताका टीका बोक्दै
आइन् होला
माइत ।
ठाँटिदै नया कमिज सुरुवालमा
मेरा भेना
सानो सन्दुक वोकी
फिटिक फिटिक हिड्दो हुन्
पछि पछि मेरी दिदीको ।
लागिन होला मेरी आमा
मेरा मावल
लालावाला अघिपछि लाउदै
खोला तर्दै
खोल्सो नाघ्दै ।
गर्यो होला स्वागत
मेरी आमाको
लहलहाउदा धानका वालाहरुले
वाटामा ।
आइन् होला
पल्ला घरेकी भाञ्जीकाली पनि
खोजे होलान आतुर नजरहरुले
मलाई
सन्ध्यामा
लिंगे पिङ वरिपरी ।
विचरी
निःशव्द भइन होली
अनुपस्थितीमा मेरो ।
लागिन होली वाटो
पर्खदै अर्को बाह्र महिना
मृगतृष्णा बोकी
भेट हुने आशाको ।
तर आफ्नो भने
डलर कमाउने सपना
वर्क पर्मिट र सोसल सेक्युरिटी हुदै
ग्रीनकार्ड र सिटिजनसिपको
रनाहामा
मातेको मान्छेको यात्रा झै
हराउदै आफैंलाई
मिटाउदै आफू भित्रको म लाई
कटाउदै
अर्थविहिन दिन र रातहरु
सम्झनामै सिमित भए दशैंहरु ।
No comments:
Post a Comment