मुक्तक हरु को संगालो
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो,
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो,
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन,-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो । .....................
मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे
बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी .......
जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।
...........................................
जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।
....................
पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।
.....................
स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ
प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ
रमाउँ कसरी परिवर्तनको खुशीले म ?
मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।
...............................
पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।
No comments:
Post a Comment